काठमाडौं - केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता वा दरपिठ नगरेकोमा नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ । 

महासचिव केदारप्रसाद कोइरालाद्वारा आज जारी विज्ञप्तिमा विगत केही दिनदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेस भएका निवेदन प्रशासनले दर्ता नगरेकामा ध्यानाकर्षण गराएको उल्लेख छ ।

“कानुनअनुसार इजलाससमक्ष सम्बन्धित शाखामा निवेदनसहितको फाइल पेस गरेकामा सम्मानित सर्वोच्च अदालत प्रशासनले दर्ता वा दरपिठ दुवै नगरी मौनता साधी आएको भनी यस एसोसिएसनमा निवेदन दर्ता हुन आएको हुँदा यसका सम्बन्धमा सर्वोच्च अदालत प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।

बारले जस्तोसुकै अवस्थामा पनि अदालत सदैव खुला र निष्पक्ष रहनुपर्नेमा निवेदन दर्तामै आलटाल गरिएमा अन्यत्रको अवस्था कस्तो होला भनी प्रश्न खडा भएको जनाएको छ ।

“संविधान प्रदत्त अधिकार र न्यायमा अवरोध नहोस् भनी अविलम्ब दरपिठ निवेदनउपर निकास दिन एवं न्याय प्रशासन निष्पक्ष छ भन्ने जनभावना स्थापित गर्न तथा न्यायको प्रवाह निरन्तर रहोस् भनी यस एसोसिएसन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ ।