काठमाडौं - प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलहरुले पटकपटकको अवरोध गर्दै बैठक चल्न नदिएपछि सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि विपक्षी दलहरु आक्रोशित हुँदै आपत्ति जनाए । आफैंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने विपक्षी दलहरुको माग रहेको थियो  । नीहरुले प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न सभामुखसँग माग गरे । 

सरकारको नीति तथा कार्यक्रम छलफलका लागि पेस गर्ने र छलफलमा उठेका विषयमा जवाफ दिने कार्यसूची थियो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । तर, त्यो विपक्षी दलहरुलाई मान्य भएन ।