काठमाडौं - प्रतिपक्षी दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनताले सरकारबाटै असुरक्षाको महसुस गरिरहेको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको उत्तर दिनुपर्ने बताएका हुन्। प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन नगर्नु जनताका प्रश्नको उत्तर नदिनु सरह भएको उनको भनाइ थियो।

साम्पाङले भने, “यो सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन? सांसदहरूले उठाएका प्रश्नको सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन? संसद्‌मा उभिएर सांसदहरूको प्रश्नको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु हो भन्ने बुझिन्छ।”

उनले जनताका प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको नमुना भएको टिप्पणी गर्दै प्रधानमन्त्री शाहप्रति प्रश्नसमेत उठाए।

साम्पाङले सरकार जनताको जिउधन र सीमाको सुरक्षा गर्न असफल भएको आरोप लगाए। “जनताले सरकारबाटै असुरक्षित महसुस गरिरहेका छन्। जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो? यही हो त लोकतन्त्र?” भन्दै उनले प्रश्न गरे। उनले जनताको सुरक्षा र सीमा रक्षा गर्न नसक्ने सरकारलाई सफल सरकार भन्न नसकिने पनि बताए।