काठमाडौं - नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदीय प्रणालीप्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा शङ्का उत्पन्न भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले संसद छलेर अध्यादेश ल्याउने काम गरेर सरकारले संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको समेत बताए । अस्वभाविक र असंसदीय शासनशैलीको कांग्रेसले समर्थन गर्न नसक्ने उनले बताए । उनले अरुलाई भ्रष्टाचारको एकोहोरो आरोप लगाउने रास्वपाले आफ्नै नेतृत्वको सरकारका तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरुको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ? भन्दै प्रश्न गरे ।

सुशासन र भ्रस्टाचार नियन्त्रणको एजेण्डामा बनेको नयाँ सरकारको नीति तथा कार्यक्रममा धेरै कुरा नयाँ जस्ता शब्दावली थपिए पनि सारमा पुरानै कुरा रहेको उनले बताए । उनले अब आउने बजेट सपना बाँड्ने नभइ परिणाममुखी बनाउन प्राथमिकताहरुका आधारमा निर्मम खालको हुन जरुरी रहेको धारणा राखे । आङ्देम्बेले सरकारको सबैभन्दा प्राथमिकतामा परेको संविधान संशोधन विषयमा समेत स्वयं सरकार संवेदनशील हुन नसकेको आरोप लगाए । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश वा पूर्व न्यायशीशको संयोजकत्वमा अधिकार सम्पन्न विज्ञसहित सर्वपक्षीय संविधान सुधार सुझाव आयोग गठन गर्नुपर्ने उनले बताए ।

उनले आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा देशको प्रधानमन्त्री बिचैमा उठेर हिड्नु उचित नभएको धारणा राखे। स्वास्थमा अचानक कुनै प्रतिकुल अवस्था बनेको हो भने तत्काल स्वास्थ परिक्षण गरेर संसदलाई जानकारी गराउन उनले माग गरे। उनले प्रधानमन्त्री अनुस्थितिले राज्य व्यवस्था समिति बैठक समेत प्रभावित भएको भन्दै आपत्ति जनाए ।