काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकबाट बाहिरिएको घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गरेको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले उक्त विषय उठाउँदै प्रधानमन्त्रीको स्पष्टीकरण माग गरेकी हुन्। उनले राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री संसद् बैठकबाट बाहिरिनु लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमै विरलै देखिने घटना भएको टिप्पणी गरिन्।

‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु केवल सामान्य दृश्य होइन,’ थापाले भनिन्।

थापाले संविधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता कायम हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताइन्। उनले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सरकार सचेत हुनुपर्ने उल्लेख गर्दै लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुने कुरामा ध्यान दिन आग्रह गरिन्।