काठमाडौं - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा गएराति तीनवटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार राति करिब साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।

त्यसपछि सोही दिशाबाट वीरगञ्जतर्फ गइरहेको अर्को बसले समेत ठक्कर दिएपछि शृंखलाबद्ध दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको उद्धार गरी तत्काल स्थानीय बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचारका लागि लगिएको थियो। घाइतेमध्ये ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने थप उपचार आवश्यक रहेका ३४ जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक तथा दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।