काठमाडौं - संसद्को सार्वजनिक लेखा समितिको बैठकमा पोखरा विमानस्थल निर्माणको क्रममा भएको भनिएको अनियमितताको विषय उठेको छ । समितिको आजको पहिलो बैठकमा राप्रपा सांसद सांसद खुस्बु ओलीले यो विषय उठाउँदै मौन बस्न नसकिने बताएकी छन् । उनले भनिन् , ‘पहिले भएका छानबिन र अनुसन्धान प्रतिवेदन पनि हेरौं। तिनले के–कस्ता समस्या औंल्याएका छन्।’

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा अनियमितताबारे लेखा समितिले नै छानबिन गरेको थियो । राप्रपा दलका नेतासमेत रहेका समिति सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति नै बनाएर अध्ययन भएको थियो ।

विमानस्थल निर्माणमा अनियमितताका सम्बन्धमा एक पूर्वमन्त्री र चार पूर्व तथा एक बहालवाला सचिवसहित १४ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । चिनियाँ निर्माण कम्पनीलाई मूल सम्झौताविपरीत कर छुट दिएर ३ अर्ब ६२ करोड हानी–नोक्सानी गराएको अभियोग अख्तियारले लगाएको छ ।