काठमाडौं - राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले संविधानको धारा ११४ ले विशेष परिस्थितिमा मात्रै अध्यादेश ल्याउन सकिने स्पष्ट व्यवस्था गरे पनि सरकारले त्यसको मर्मविपरीत लगातार अध्यादेश जारी गरिरहेको बताइन्। सरकारबाट संसद्लाई छायामा पार्ने प्रयास भइरहेको आरोप समेत उनले आरोप लगाइन्।
ओलीले भनिन्, “प्रतिनिधिसभालाई सरकारले बेवास्ता गरेको हो कि भन्ने देखिन्छ। अझ भनौं, प्रतिनिधिसभालाई छायामा पारिएको हो कि भन्ने भान हुन्छ। प्रतिनिधिसभा सरकारको कठपुतली होइन।”
ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाइएकोप्रति आपत्ति जनाइन् । उनले दुई जना गरिबले वर्षौँको दुःखले बनाएको टहरा भत्किएपछि आत्मदाह गर्न विवश हुँदा समेत सरकारले कुनै संवेदना प्रकट नगरेकोमा आक्रोश व्यक्त गरिन्।
उनले नेपालमा मृत्युको पनि वर्ग र जात (क्लास एन्ड कास्ट) हुने गरेको टिप्पणी गर्दै गरिबको मृत्युलाई सरकारले बेवास्ता गरेको आरोप लगाइन् ।ओलीले खोला किनारमा बस्ने गरिबको जीवनको मूल्य छ कि छैन? भनी प्रश्न गरिन् ।


0 comment