काठमाडौं - इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमानको अवतरण गियर (ल्यान्डिङ गियर)मा देखिएको धुवाँ हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको जनाएको छ।

टर्किस एयरलाइन्सका सञ्चार प्रमुख याहया उस्तुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराउदै इस्तानबुल काठमाडौँ उडान भरेको टीके  ७२६ नम्बरको जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य रूपमा अवतरण भएको थियो। 
तर अवतरणपछि धावनमार्गबाट ट्याक्सी वेतर्फ जाने क्रममा जहाजको अवतरण गियरमा अचानक धुवाँ देखिएको उनको भनाइ छ ।

धुवाँ देखिए लगत्तै एयर ट्राफिक कन्ट्रोलको निर्देशन र सुरक्षा सावधानीलाई ध्यानमा राख्दै विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको तत्काल उद्धार गरिएको थियो।

उस्तुनले घटनामा सबै यात्री तथा चालक दलका सदस्य सकुशल रहेको बताईएको छ । सो जहाजबाट इस्तानबुल फर्कनुपर्ने यात्रुहरूका लागि एयरलाइन्सले अर्को थप उडानको व्यवस्था गरेको छ।