काठमाडौं - नेपाली कांग्रेसले आज कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला गर्दैछ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले आज मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो ।
जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार प्रदशेस्तरीयको सभापति गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेलामा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुनेछन् ।
कांग्रेसले यसअघि २६ र २७ वैशाखमा कैलालीको धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरिसकेको छ । ३१ वैशाख र १ जेठमा गण्डकी प्रदेशस्तरीय भेला पोखरामा तथा ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने कांग्रेसले जनाएको छ ।
त्यसैगरी मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिवासमा,कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकी तथा लुम्बिनी प्रदेशको १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा आयोजना गरिने भएको छ ।नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भेला आयोजना गरेको हो ।
यो प्रदेशस्तरीय भेलामा विशेषगरी प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुनेछ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनबारे पनि छलफल हुने बताईएको छ ।


0 comment