काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।
रास्वपाको पार्टी–संसद्–सरकार समन्वय समितिले आइतबार आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा सभापति लामिछानेले खोला किनारमा बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताए ।
“सरकारले निकै द्रूत गतिमा भूमिहीनको हकअधिकार प्रदान गर्दैछ, जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई त्यहीँ राखिरहेर ठिक गरियो कि, त्यसलाई समाधान गर्न कदम चालेर ठिक गरियो ?” सभापति लामिछानेले प्रश्न गरे । जोखिमपूर्ण क्षेत्रका स्थानन्तरण गरिएका नागरिकको व्यवस्थापनलाई चुस्त र मानवीय बनाउन सरकार कटिबद्ध रहेको उनले उल्लेख गरे ।
सभापति लामिछानेले नागरिकको भावनासँग जोडिएको विषयलाई राजनीतिक हतियार बनाउनु गलत भएको बताए । “तीसौँ वर्षदेखि खोलाको छेउमा दुर्गन्ध र अस्वस्थता तथा असुरक्षाका बीच नागरिकले रात काटेको विषयमा त्यति धेरै चिन्ता भएन, तर त्यसलाई व्यवस्थित ढङ्गबाट समाधान गर्न सरकारले चालेको कदमका बारेमा असंवेदनशील भएर टिप्पणी गरिनु न्यायसङ्गत भएन”, उनले भने ।
भोटका लागि राजनीति गर्ने युगबाट सम्पूर्ण राजनीतिक दल बाहिर निस्कनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले जोखिममा रहेका नागरिकको जीउधनको रक्षा गर्न सत्ता पक्ष र प्रतिपक्ष विभाजित हुन नहिुने बताए ।


0 comment