काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन्।
ललितपुरमा आइतबार आयोजित पार्टीका सांसदहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले अहिलेको राजनीतिक अवस्थालाई ‘ऐतिहासिक क्रान्ति’को उपलब्धि भएको उल्लेख गरे। उनले भने, ‘हामी ऐतिहासिक क्रान्तिबाट आएका छौं। यदि यो परिवर्तनलाई परिणाम दिन सकेनौं भने हामी नै नालायक ठहरिनेछौं।’
सभापति लामिछानेले केही सांसदहरूले पार्टीमा गरेको योगदानको आधारमा व्यक्तिगत अपेक्षा राख्दै आफूलाई भेट्ने गरेको उल्लेख गर्दै अहिले योगदानको मूल्य माग्ने समय नभएको स्पष्ट पारे। उनले भने, ‘अहिले पनि केही साथीहरू ‘सुरुदेखि लागेको, पार्टीमा योगदान छ’ भन्दै योगदानको मूल्य खोज्न आउनुहुन्छ। तर यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि आएको छैन। योगदान त अब देखाउने हो।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै राजनीतिक उचाइ हासिल गरे पनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताए। फरक विचार, सिद्धान्त र राजनीतिक धार भए पनि अघिल्ला पुस्ताका नेताहरूको संघर्षकै जगमा अहिलेको परिवर्तन सम्भव भएको उनको भनाइ थियो।
उनले भने, ‘हामी पार्टी, विचार र सिद्धान्तका हिसाबले फरक हुन सक्छौं। तर देशमा राजनीतिक परिवर्तनका लागि अघिल्लो पुस्ताले बनाएको आधारकै कारण हामीले त्यस्तो दुःख भोग्नुपरेको छैन। अबको पाँच वर्ष हामीले काम गरेर देखाउनुपर्ने समय हो।’
सभापति लामिछानेले सांसदहरूलाई आफ्नो अभिव्यक्ति र गतिविधिप्रति जिम्मेवार बन्न आग्रह गर्दै जनताको भावना र विश्वासमा चोट पुग्ने कुनै पनि व्यवहार नगर्न सचेत गराए।


0 comment