काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट सेवा सुविधा प्राप्त गर्नेले जनताको सेवा गर्नु परम कर्तव्य हुने बताएका छन् ।

गोरखापत्र प्रकाशनको १२६ औँ वर्ष प्रवेशका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले नागरिकले तिरेको करबाट तलब लिने र सरकारी अनुदानबाट सञ्चालन हुने संस्थाले  नागरिकको हितमा काम गर्नु प्रमुख दायित्व भएको बताएका हुन् ।

सरकार भनेको कुनै व्यक्ति नभइ नागरिक नै भएकाले नागरिकको हितमा काम गरेको छ कि छैन भनेर सोचेर अगाडि बढ्नुपर्ने समय आएको उनले बताए ।

उनले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा समेत जोड दिए ।

सरकारी संस्थानहरुलाई समयानुकूल ढङ्गले थप व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री तिमिल्सिनाले गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा फरक, प्रभावकारी र विश्वसनीय बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे। कार्यक्रममा उनले सन्थाल र हायु भाषाको समाचार पृष्ठको अनावरण समेत गरे ।