काठमाडौं - सरकारले वैशाख २८ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वानको सिफारिस गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले  अधिवेशन आह्वानको सिफारिसको बारेमा सञ्चारकर्मीलाई जानकारी दिएका हुन् । यसअघि आह्वान भइसकेको संसद् अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्थगित गरेका थिए । संसद् बैठक रोकेर सरकारले धमाधम अध्यादेश जारी गरेको भन्दै त्यसको चौतर्फी आलोचना भएको थियो ।