काठमाडौं - खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन गम्भीर रुपमा छलफल भइरहेको बताएकी छन् ।

मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री मेहताले उपत्यकावासीलाई सहज रुपमा खानेपानी उपलव्ध गराउनका लागि निकै महत्वपूर्ण आयोजनाका रुपमा रहेको मेलम्चीलाई दिगो र सुरक्षित बनाउन पटकपटक छलफल भइरहेको बताइन् ।  

मेलम्ची खानेपानी आयोजनामा अझै पनि केही समस्याहरु रहेकाले दीर्घकालीन समाधान खोजिने उनको भनाइ छ । मन्त्री मेहताले विभिन्न स्थानमा अलपत्र परेका खानेपानी आयोजनालाई पूरा गर्नका लागि मन्त्रालयले काम सुरु गरिसकेको उनको भनाइ छ । अलपत्र परेका आयोजनाहरूको निरन्तर अनुगमन भइरहेकाले आवश्यक बजेट व्यवस्थापन समेत गरिने उनको बताइन् ।