काठमाडौं - साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन तथा नवीकरण सेवा पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध हुने भएको छ।
यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै सेवाग्राहीले अब अनलाइनबाटै आवेदन दर्ता, नवीकरण तथा राजस्व भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको जनाएको हो।
विभागका अनुसार सेवा लिन राष्ट्रिय परिचयपत्रको विवरण तथा नागरिक एपमा रहेको क्यूआर स्क्यानर प्रयोग गरी स्क्यान गरेपछि अटोफिल प्रणालीमार्फत फाराम भर्न सकिनेछ। यस व्यवस्थाले सेवाग्राहीलाई आवश्यक विवरण सहज रूपमा भर्न सहयोग पुग्ने विभागको विश्वास छ।
विभागले सातै प्रदेशका सेवाग्राहीका लागि छुट्टाछुट्टै वेब ठेगानामार्फत अनलाइन फाराम भर्ने व्यवस्था मिलाएको जनाएको छ। साथै, सेवासम्बन्धी कुनै समस्या, गुनासा वा सुझाव भए विभागको आधिकारिक इमेल तथा प्रदेशगत सम्पर्क इमेल र मोबाइल नम्बरमार्फत जानकारी दिन सकिने सूचनामा उल्लेख गरिएको छ।
विभागले नयाँ प्रणाली लागू भएसँगै सेवाप्रवाहलाई थप सरल, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरेको छ।


0 comment