काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष महाधिवेशनअघि वैशाखमा तय भएको महाधिवेशनलाई नै अघि बढाउने तयारी गरेको छ ।
मंगलबारबाट धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु पार्टीको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुको विस्तारित बैठकबाट वैशाखमा तय भएको महाधिवेशनलाई नै अघि बढाउने गरि कार्ययोजना बनाउने तयारी गरिएको हो ।
कांग्रेस नेता मीन विश्वकर्माले विशेष महाधिवेशनअघि वैशाखमा तय भएको महाधिवेशनको समय आइसकेको अवस्थामा त्यसलाई नै एकताको अधिवेशन बनाउने गरि छलफल हुने जानकारी दिए ।
कांग्रेस सभापति गगन कुमार थापा नेतृत्वको कार्यसमितिले भने १५ औ महाधिवेशन आगामी असोज गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
निर्वाचन आयोग र अदालतले गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरुलाई क्रियाशिल बनाउदै परिचालन गरिने र सवैलाई समेटेर १५ औ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने गरि बैठकले आवश्यक निर्णय गर्ने विश्वकर्माले उल्लेख गरे ।
उनले पार्टीलाई एकताबद्ध गर्ने सवालमा आफूहरु निरन्तर छलफलमा रहेपनि सभापति थापा पक्षबाट संवादको विन्दु नै प्रारम्भ हुन नसकेको बताए । विशेष अधिवेशन र नियमित अधिवेशन पक्षधरहरूलाई मिलाएर १५ औ महाधिवेशनमा लैजानुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
विस्तारित भेलाबाट निर्वाचनको समीक्षाका साथै निर्वाचनमा पराजयको कारण खोज्ने उनले बताए । विस्तारित बैठक तीन दिनसम्म लम्बिन सक्ने विश्वकर्माले जानकारी दिए ।



0 comment