काठमाडौं - गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटी नारायणटारमा  आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। त्रिपुरेश्वर आँखा अस्पताल र नगरपालिकाको सहकार्यमा स्थापना गरिएको उक्त केन्द्रले स्थानीय बासिन्दालाई सहज र सुलभ आँखा सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

उपचार केन्द्रको उद्घाटन नगरप्रमुख दीपक रिसालले आँखा परीक्षण गरेर गरे। उद्घाटनपछि बोल्दै उनले नगरवासीका लागि विशेष सहुलियतको व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार नागरिकता, जन्मदर्ता वा मतदाता परिचयपत्रका आधारमा दर्ता शुल्क र मोतिबिन्दुको शल्यक्रिया निःशुल्क गरिनेछ भने ज्येष्ठ नागरिकलाई चश्मा खरिदमा २०० रुपैयाँसम्म छुट प्रदान गरिनेछ।

नगरपालिकाले आगामी दिनमा स्वास्थ्य सेवा थप सुदृढ गर्ने योजना पनि अघि सारेको छ। नगरभित्रका ११ वटा स्वास्थ्य केन्द्रमा महिनामा कम्तीमा एक दिन आँखा शिविर सञ्चालन गरिने, विद्यालयहरूमा घुम्ती शिविर लगिने र आगामी वर्षदेखि नगरवासीले ५० हजार रुपैयाँसम्मको आँखा उपचार निःशुल्क पाउने व्यवस्था मिलाइने तयारी भइरहेको मेयर रिसालले बताए।

यसअघि नै पाथीभरा प्रहरी स्वास्थ्य केन्द्र मार्फत आँखा सेवा उपलब्ध हुँदै आएकोमा अब नयाँ केन्द्र सञ्चालनसँगै सेवा अझ विस्तार भएको छ।

उद्घाटन कार्यक्रममा वडा नं. ५ का अध्यक्ष तथा नगर प्रवक्ता नारायणबहादुर सुवेदी, प्रमुख प्रशासकीय अधिकृत याम नारायण कौली लगायत त्रिपुरेश्वर आँखा अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गोकर्णेश्वर नगरपालिका पछिल्ला वर्षहरूमा स्वास्थ्य, शिक्षा, बीमा तथा सरसफाइका क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै नमुना नगरपालिकाका रूपमा स्थापित हुँदै गएको छ। नगरप्रमुख रिसालको नेतृत्वमा युवा सोच र योजनाबद्ध विकासका कारण स्थानीय स्तरमा सेवा विस्तारले तीव्रता पाएको छ।