काठमाडौं - सहकारी बचत पीडित संघ कास्कीले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको ध्यानाकर्षण गराएका छन् ।

पोखरामा आइतबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई एक निवेदन बुझाउँदै पीडितहरूले विगत चार वर्षदेखि समाधान हुन नसकेको सहकारी समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् । कानुनी जटिलता र प्रक्रियागत ढिलासुस्तीका कारण हजारौं सर्वसाधारण न्यायबाट वञ्चित हुनु परेको पीडितहरूले गुनासो गरेका छन्।

संघले मुख्य अभियुक्तको सम्पत्ति रोक्का र सहकारी सञ्चालकको व्यक्तिगत बिगो कायम गर्न माग गर्दै सहकारी ठगीको अनुसन्धान र मुद्दा प्रक्रियामा रहेका मुख्य त्रुटिहरू औंल्याउँदै १० बुँदे माग समेत प्रस्तुत गरेको छ ।

निवेदन बुझाएपछि सहकारी बचत पीडित संघ कास्कीका संयोजक किरण श्रेष्ठले भने, 'राज्यका हरेक निकायमा हारगुहार गर्दा पनि हाम्रो पीडा कसैले सुनेनन् । कतिपय बचतकर्ता न्याय पर्खिँदा पर्खिँदै मृत्युको मुखसम्म पुगिसके । हामीले अदालतलाई अन्तिम भरोसाको केन्द्र मानेका छौं।’

पीडितहरूले सहकारी विभाग, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिजस्ता निकायहरूले प्रभावकारी काम गर्न नसकेको समेत गुनासो गरेका छन् ।

निवेदन बुझ्दै कामु प्रधानन्यायाधीश मल्ले सहकारीपीडितको समस्या समाधान गर्ने विषयमा आफू गम्भीर रहेको बताइन् ।