काठमाडौं - यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउनुपर्ने ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ।

हालै सार्वजनिक सवारीको भाडा वृद्धि भएपछि विद्यार्थीहरूले निर्धारित छुट नपाएको गुनासो बढेपछि विभागले यस विषयमा चासो देखाएको हो। हेलो सरकार तथा विभिन्न गुनासो माध्यममार्फत विद्यार्थीहरूले छुट नपाएको उजुरी आएपछि विभागले तत्काल ध्यानाकर्षण गराएको जनाएको छ।

विभागका अनुसार सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था पहिलेदेखि नै कायम रहेको छ र यसलाई निरन्तरता दिन व्यवसायीहरूलाई स्पष्ट निर्देशन दिइएको छ। यदि तोकिएको छुट नदिएको पाइएमा सम्बन्धित व्यवसायीमाथि कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।