काठमाडौं - वैदेशिक रोजगार विभाग ताहचलबाट तीन बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिइएको प्रहरी टोलीले विभागमा सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ घर भई हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने ३४ वर्षीय विजय लामा र नुवाकोट घर भई हाल कलङ्की बस्ने ३८ वर्षीय सागर लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ । विशेष गरी सेवाग्राहीको भिडभाड हुने स्थानमा प्रहरीले बिचौलियामाथि निगरानी राख्दै उनीहरुलाई धमाधम पक्राउ गरेको छ ।
यसैबीच, काठमाडौँ प्रहरीले बैंकिङ कसुर, ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, लागुऔषध, हाडनाता करणीलगायत विभिन्न मुद्दामा फरार २६ जनालाई पक्राउ गरेको छ ।



0 comment