काठमाडौं - सिरहा कारागारमा फेरि तनाव बढेपछि प्रहरीले २३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, ती कैदीबन्दीलाई अन्य कारागारमा पठाउने विषयमा विभागसँग अनुमति मागिएको छ।

गत शनिबारदेखि सुरु भएको विवादका क्रममा एक समूहले चौकीदार प्रेम चौधरीसहित दुई जनामाथि अनियमितता र असुलीको आरोप लगाउँदै बाहिर निकालेको थियो। पछि उनीहरूलाई उदयपुर कारागार पठाइएको थियो।

सिरहा कारागारमा व्यवस्थापन कमजोरीका कारण यसअघि पनि पटक-पटक विवाद हुँदै आएको छ। गत माघ २६ गते भएको घटनामा कटुवा पेस्तोल र गोली बरामद हुँदा इन्द्रजित यादव सहित १३ जना अन्यत्र सारिएका थिए।