काठमाडौं - वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड एकतर्फी खुलेको छ ।

कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा बगाएको डाइभर्सन मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको छ । लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपुर्वक यात्रा गर्न अनुरोध गरिएको छ ।

पुर्णरुपमा बाटो संचालन गर्नका लागि अझै केही समय लाग्ने हुनाले बाटोको अवस्थाको बारेमा थप जानकारी लिनको लागि १०० र १०३ मा सम्पर्क गर्न समेत भनिएको छ ।

डाइभर्सन बगाएका कारण सडक अवरुद्ध भएको थियो ।   वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।

गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

यसैबीच गए राती बिपी राजमार्ज सडक खण्डमा रोशी खोलामा अचानक पानीको बहाव बढी हलेशीबाट काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश १-००१ य १८०३ नम्बरको स्कारपियो गाडी खोलामा फसेको थियो ।

प्रहरीको टोलीले  स्कारपियो चालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा.वडा नं.७ बस्ने बर्ष ३९ को टिका बहादुर नेवारलाई सकुशल उद्धार गरेको थियो ।