काठमाडौं - डिभिजन सडक कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगंज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काउन सुरु गरेको छ ।

वीरगंजका पाँच ठाउँमा ४:३० बजेबाट भत्काउन सुरु गरेको कार्यलयले जनाएको छ ।

वीरगंजको गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोक गरी ५ ठाउँबाट एकै साथ १० वटा डोजर लगाई सडक फराकिलो गर्ने काम सुरु गरिएको हो ।

अदालतको फैसलापछि पनि सडक अतिक्रमित घरटहरा भत्काउन रोकिएको अवस्थामा सडक डिभिजनले वीरगंज महानगर, सशस्त्र, प्रहरीको सहयोगमा घर टहरा भत्काएको हो ।

घर टहरा भत्काउन २ हजार २ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकहरुलाई हिजो सुचना जारी गर्दै आग्रह गरेको छ । पर्सा १ र २ का प्रतिनिधि सभा सदस्य,सडक डिभिजन कार्यालय,स्थानीय प्रशासन, महानगर, वीरगञ्ज उद्योग वाणिज्य संघ, अन्य सरोकारवाहरु सम्मिलित शनिबार साँझ बसेको बैठक पछि प्रशासनले विज्ञप्ति मार्फत संरचना खालि गर्न आग्रह गरेको हो  ।


सर्वोच्च अदालतले मिति २०८१ फागुन २८ गते अतिक्रमित संरचना भत्काउन आदेश दिएको थियो ।

डोजर चलाउन  तय गरिएको क्षेत्रमा सरकारी कार्यालयका २९ वटा भवन तथा व निजी गरि करिब १ हजार २ सय  को संख्यामा घर संरचनाहरु रहेका छन् ।