काठमाडौं - नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षको भेलाले सर्वोच्च अदालतको फैसलालाई आत्मसात गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको फैसलापछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बसेको बैठकले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले बताए ।नेपाली कांग्रेस भित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा समुहकव बैठक खड्का निवासमा बसेको थियो ।
सर्वोच्चको फैसलापछि आफूहरूले गगन थापालाई पार्टी सभापति मानेको नेता विश्वकर्माले बैठकपछी बताएका छन् । हिजोदेखि पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति भएको बताउनै पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको उनले बताए ।
देउवापक्षीय नेताहरूको अनौपचारिक बैठकले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सम्मान गर्दै अघि बढ्ने निष्कर्ष निकालेको नेता विश्वकर्माले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले फैसलाका कतिपय आधारहरूमा आफूहरूको असन्तुष्टि र विरोधाभास रहे तापनि न्यायलयको आदेशलाई शिरोधार्य गर्ने बताए। नेपाली कांग्रेसले सधैँ विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्दै आएको छ। फैसलामा उल्लेख गरिएका कतिपय विषयमा हाम्रा पर्याप्त विमति भए पनि अदालतको निर्णयलाई हामीले आत्मसात् गरेका छौँ उनले भने ।
बैठकले अबको राजनीतिक निकास र पार्टीलाई भावनात्मक रूपमा एकताबद्ध बनाउने दायित्व नयाँ नेतृत्वकै हुने स्पष्ट पारेको छ।
विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादका कारण विगत ५–६ महिनादेखि कांग्रेसभित्र तीव्र अन्तरद्वन्द्व चर्किएको थियो।
निर्वाचन आयोगको निर्णयमा चित्त नबुझेपछि देउवा पक्ष सर्वोच्च पुगेको थियो। तर अदालतको अन्तिम फैसलापछि अब कानुनी लडाइँ सकिएको र राजनीतिक एकताको अध्याय सुरु भएको नेताहरूको भनाइ छ।
देउवा पक्षले अबका दिनमा देशै भरका नेता कार्यकर्ताको सुझाव सुन्ने र पार्टीलाई आगामी निर्वाचनमा सशक्त बनाएर लैजानका लागि नयाँ नेतृत्वलाई रचनात्मक सहयोग गर्ने समेत बताएको छ।



0 comment