काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूलाई सोधिएको स्पष्टीकरण सम्बन्धी पार्टीको अनुशासन समितिको निर्णयलाई ‘अर्थहीन’ बताएका छन्।

कांग्रेस केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले कार्यवाहक सभापतिका रूपमा विज्ञप्ति जारी गरेको विषयलाई आधार बनाएर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

तर सो निर्णयप्रति प्रतिक्रिया जनाउँदै खड्काले त्यसलाई ‘निरर्थक, हास्यास्पद र अर्थहीन’ भन्दै अस्वीकार गरेका छन्। उनले अवैधानिक महाधिवेशन र त्यसबाट बनेको संरचनाले गरेको निर्णय वैधानिक नहुने जिकिर गरेका छन्।

खड्काका अनुसार विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध आफू सर्वोच्च अदालत गएको र सो मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको छ। ‘म कार्यवाहक सभापतिकै हैसियतमा सर्वोच्च अदालत गएको हुँ। मुद्दा विचाराधीन छ,’ उनले भने।

उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको निर्णयका आधारमा आफूलाई दिएको अख्तियारी अनुसार नै अदालतमा गएको दाबी गर्दै पार्टी संरचनाको वैधानिकतामाथि प्रश्न उठाएका छन्।

खड्काले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिले टिकट वितरण सुरु गरेपछि आफूले त्यसलाई अवैधानिक ठहर गर्दै चुनाव नलडेको पनि बताएका छन्।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला आफूले कार्यवाहक सभापतिका रूपमा विज्ञप्ति जारी गरेको उल्लेख गर्दै खड्काले अनुशासन समितिको स्पष्टीकरण सोध्ने निर्णय निरर्थक भएको दोहोर्‍याएका छन्।