काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राख्दै हाल इन्ट्री कार्य तीव्र रूपमा अघि बढाएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका विभिन्न जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिकाहरू बोर्डमा आउने क्रम जारी छ। “मार्कस्लिप छुट्याएर इन्ट्री गर्ने काम भइरहेको छ, उत्तरपुस्तिकाहरू पनि क्रमशः आइरहेका छन्,” उनले जानकारी दिए। हालसम्म ८ देखि १० जिल्लाबाट आवश्यक सामग्री प्राप्त भइसकेको र अन्य जिल्लाबाट आउने क्रममा रहेको उनले बताए।
गत १९ देखि २९ चैतसम्म सञ्चालन भएको एसईई परीक्षा यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरेर सम्पन्न गरिएको थियो। परीक्षा सकिएलगत्तै केन्द्रमै परीक्षण गरिएका उत्तरपुस्तिकासहित मार्कस्लिपहरू बोर्डमा पठाइएको हो।
नतिजा समयमै सार्वजनिक गर्न बोर्डले ३० जना कर्मचारी परिचालन गरेको छ, जसमध्ये १७ जना इन्ट्री कार्यमा खटिएका छन्। कर्मचारीहरूले बिदाका दिनमा समेत काम गरिरहेका छन्। सरकारले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएअनुसार बोर्डले त्रुटिरहित नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्। साथै, जापानस्थित एक केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिएका थिए।



0 comment