काठमाडौं - राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पुराना र नयाँ भनिएका दलहरुको नीतिगत सिद्धान्त र विचारको नाभी एकै ठाउँ जोडिएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो दलका तर्फबाट उपसभामुखको उम्मेदवारको नाम प्रस्ताव गर्दै शाहीले सभामुखमा राप्रपाको उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर बनाएको उल्लेख गर्दै पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक–फरक भएता पनि उनीहरू बीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको बताए । 

राप्रपालाई एक थान उपसभामुख पद प्राथमिकता नरहेपनि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि उम्मेदवारी दिने टुंगोमा पुगेको उनले सुनाए । राप्रपालाई नभइ श्रम संस्कृति पार्टीका उम्मेदवारलाई रास्वपाले सहयोग गरेपछि सांसद शाहीले उपसभामुखमा सहयोग गर्ने वचन दिएर पनि धोका दिएको उल्लेख गरे ।

उनले राप्रपा वर्तमान व्यवस्थाको विकल्प प्रस्ताव गरिरहेको र राजसंस्थासहितको प्रजातन्त्र, सापेक्ष हिन्दू राष्ट्रको पुनस्र्थापना, आर्थिक रुपमा बोझिलो र मुलुकको आवश्यकता बिना भित्र्याइएको संघीयता खारेजी जस्ता शासकीय स्वरुपमा आमुल परिवर्तनको मुद्दा बोकेको अघि बढेको बताए । सत्ताको खेल चलिरहने र सरकारहरु आउने–जाने भइरहने भन्दै सांसद शाहीले मुलुकमा देशको राष्ट्रियता र राष्ट्रवाद अमर रहिरहनुपर्ने धारणा राखे ।