काठमाडौं - प्रतिनिधिसभाको पहिलो अधिवेशन आजबाट सुरु भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो । दिउँसो २ बजेका लागि बोलाइएको बैठक सवा २ बजेमात्रै सुरु भएको हो ।

बैठक सुरु भएलगत्तै एमालेका सांसद गुरु बरालले पूर्वमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै भन्दै तत्काल बिना सर्त रिहा गर्न सरकार र सदनको ध्यानाकर्षण गराए ।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको सुरुमा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र मन्त्रिपरिषद् गठन सम्बन्धी जानकारी दिने कार्यसूची रहेको छ । यसपछि बैठकमा बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।