काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षा केन्द्र (सेन्टर) मा नै परीक्षण गर्ने व्यवस्था मिलाएको छ । परीक्षा सकिएको ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा सचिव चुणामणि पौडेलले बताए ।

केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था आएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा ल्याएर परीक्षण गराउन सकिनेछ ।

बोर्डका उपाध्यक्ष समेत रहेका शिक्षा सचिव पौडेलले परीक्षा सकिएको ३ दिनभित्र परीक्षण सक्न सर्कुलर गर्ने बताए । नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय अनुसार वैशाख मसान्तसम्म एसईईको नतिजा प्रकाशन हुनेछ ।

बिहीबारबाट सुरु हुने एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले परीक्षा दिँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने छन् । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् ।