काठमाडौं - नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न एमालेले आजैदेखि आन्दोलन थाल्ने बताएका छन् ।
आज बिहान पार्टीका अध्यक्ष के पी शर्मा ओली पक्राउ परेपछि सामाजिक सञ्जालमा लेख्दै उनले प्रदर्शनको कार्यक्रमबारे पनि जानकारी गराईने बताएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको भन्दै यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको उनको भनाइ छ ।
‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ’ बस्नेले भनेका छन् । उनले आजै बिहान ८:३० वजे सचिवालयको बैठक बस्ने र आन्दोलनका कार्यक्रमबारे विस्तृत जानकारी दिइने समेत बताएका छन् ।
उनको फेसबुक स्टाटस
"राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ। नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ।
बालेन सरकारद्वारा सुधन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।
सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ।
प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं। अहिले विहान ८:३० वजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ।"


0 comment