काठमाडौं - नेपाली काँग्रेस नवलपरासी पश्चिमले अन्तर्घातको आरोपमा ४३ जनामाथि कारबाहीको सिफारिस गरेको छ ।
पार्टीका उम्मेदवारहरू भारी मतान्तरले पराजित भएपछि अन्तर्घातको आरोपमा उनीहरूमाथी कारबाही सिफारिस गरिएको हो ।
कारबाही सिफारिसको सूचीमा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल,लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण प्रसाद जयसवाल, महासमिति सदस्यहरू, क्षेत्रीय तथा वडा तहका पदाधिकारी छन् ।
२१ गते चुनावकै दिन २२ जना नेतामाथि कारबाही गरिएको थियो ।
केही नेता तथा कार्यकर्ताले निर्वाचनअघि नै पार्टी छाडेका थिए ।
अहिले जिल्ला सभापति अर्जुन पोखरेलले केन्द्रीय सभापति गगन थापालाई पत्र पठाउँदै नेताहरूमाथि कारबाहीको माग गरेका छन् ।
क्षेत्र नम्बर १ मा विनोद चौधरी रास्वपाका उम्मेदवार विक्रम खनालसँग करिब ३६ हजार मतान्तरले पराजित भएका थिए । यस्तै क्षेत्र नम्बर २ मा भरत थापा पनि नरेन्द्र गुप्तासँग भारी मतान्तरले पराजित भएका छन् ।
दुवै क्षेत्रमा पराजयको कारण केही जिम्मेवार नेताहरूको अन्तरघात रहेको जिल्ला कार्यसमितिको ठहर छ ।
कारबाही सिफारिसमा परेका नेताहरूले औपचारिक रूपमा केही बोलेका छैनन् । पार्टीमा कंडेल,जयसवाल पहिलेबाटै नेता शेरबहादुर देउवा समूहमा रहे पनि विशेष महाधिवेशनपछि खुलेका छैनन् ।
कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश रानाले नवलपरासीमा ४३ जना कारबाही सिफारिस भएको विषय केन्द्रमा पुगेको र शुक्रबार बस्ने बैठकले टुंगो लगाउने सूचना पाएको जानकारी दिए ।


0 comment