काठमाडौं - सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले जानकारी दिए ।

त्यस्तै बैठकले नेपालका हिमनदी बेसिन क्षेत्रमा हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनजन्य बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ ।