नेपाली कांग्रेसका एक कार्यकर्ताले हालैको चुनावी पराजयपछि पार्टी नेतृत्वलाई खुला पत्र लेख्दै यसलाई आगामी राजनीतिक यात्राको नयाँ सुरुवातका रूपमा लिन आग्रह गरेका छन् ।
हाल अमेरिकामा रहेका कांग्रेस कार्यकर्ता लोकनाथ अधिकारीले सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लडेर पराजित भएका सभापति गगनकुमार थापालाई उल्लेख गर्दै यो केवल चुनावको लडाइँ मात्र थिएन, विश्वास र इतिहासको पनि लडाइँ थियो भनेका छन्।
यद्यपि, उनले राजनीतिक जीवनमा हारलाई अन्तिम सत्य मान्न नहुने बताएका छन्। “कहिलेकाहीँ हार नै भविष्यको जितको आधार बन्न सक्छ,” भन्दै उनले एक चुनावको पराजयले राजनीतिक यात्रा समाप्त नहुने उल्लेख गरेका छन्।
नेतृत्वले राजीनामाबारे सोचिरहेको प्रसंगतर्फ संकेत गर्दै उनले कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउने जिम्मेवारी वर्तमान नेतृत्वमाथि मात्र नपर्ने बताएका छन्। बरु कठिन अवस्थामा पुगेको पार्टीलाई पुनः जनतामाझ सशक्त रूपमा स्थापित गर्न नेतृत्वले महत्वपूर्ण प्रयास गरेको उनको भनाइ छ।
उनले विद्यार्थी राजनीतिदेखि लोकतान्त्रिक आन्दोलनसम्मको सक्रियता, २०६४ को संविधानसभा सदस्यका रूपमा खेलेको भूमिका, स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा गरिएका सुधार प्रयास तथा पछिल्ला प्रतिनिधि सभामा देखिएको स्पष्ट र प्रखर आवाजलाई नेतृत्वको राजनीतिक योगदानका रूपमा उल्लेख गरेका छन्।
त्यस्तै लोकतन्त्रपछि उदाएका विभिन्न राजनीतिक शक्तिहरू पनि समयक्रममा कमजोर बन्दै गएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसलाई समयअनुकूल परिमार्जन गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
सरकारका सकारात्मक कामको प्रशंसा गर्दै गलत निर्णयप्रति स्पष्ट रूपमा आवाज उठाउनुपर्ने तथा संगठनलाई गाउँ–गाउँसम्म पुनः सक्रिय बनाउनुपर्ने उनको सुझाव छ।
अन्त्यमा उनले नेतृत्वलाई निराश नहुन आग्रह गर्दै कांग्रेसमा आफ्नो रगत, पसिना र जवानी समर्पित कार्यकर्ताहरूको विश्वास अझै कायम रहेको उल्लेख गरेका छन्। “यो यात्राको अन्त्य होइन, अर्को अध्यायको सुरुवात हो,” उनले भनेका छन्।
गगन दाइ नमस्कार,
सर्लाही क्षेत्र नं ४ बाट चुनाव लड्ने खबर सुन्ने बित्तिकै मेरो मनमा धेरै कुरा उब्जिएका थिए। विभिन्न सूचनाहरूबाट कांग्रेस हार्न सक्छ भन्ने संकेतहरू पनि पाउँदै थिएँ। तर कांग्रेस जस्तो पार्टी कठिन मोडमा उभिएको बेला म जस्तो साधारण कार्यकर्ता चुप लागेर बस्न सकिनँ। आफ्नो ठाउँबाट सकेको सबै प्रयास गरें—किनकि त्यो केवल चुनावको लडाइँ थिएन, त्यो हाम्रो विश्वास र इतिहासको लडाई थियो।
हामीलाई हारको सम्भावना थाहा थियो, तर पनि हामी युद्धमैदानमा उभिएका सिपाही जस्तै थियौं। युद्धमा गएका सिपाहीले “म हार्छु” भनेर पछि हट्दैन—ऊ आफ्नो कर्तव्य निभाउँछ। चुनावको नतिजा आउन थाल्यो, काठमाडौं क्षेत्र नं. १ को प्रारम्भिक परिणामले नै हामी धेरै पछि परिरहेका छौं भन्ने स्पष्ट भयो। त्यो क्षण यति भारी लाग्यो कि मैले समाचार नै हेर्न छोडें। सर्लाहीको नतिजाको चिन्ता पनि मनमा थियो। अन्तत: नतिजा आयो—हाम्रो पक्षमा आएन। मन अत्यन्तै दुख्यो। त्यो पीडा शब्दले बयान गर्न गाह्रो छ।
तर दाइ, जीवन र राजनीति दुबैको एउटा सत्य छ—कहिलेकाहीँ हार नै भविष्यको जितको आधार हुन्छ। एउटा चुनाव हार्दैमा राजनीतिक यात्रा समाप्त हुँदैन। घोडा चढ्ने मान्छे मात्रै लड्छ, कहिल्यै नचढ्ने त कहिल्यै लड्दैन पनि। त्यसैले हारलाई अन्त्य होइन, नयाँ यात्राको सुरुवात मान्नुपर्छ।
राजीनामाको कुरा सुन्दा मन झन् भारी भयो। दाइ, के कांग्रेस तपाईंले बिगार्नु भएको हो र राजीनामा दिनुपर्ने ? बरु तपाईं त आईसीयूमा पुगेको कांग्रेसलाई फेरि जनताको आँगनमा ल्याउन खोज्ने नेतामध्ये एक हुनुहुन्छ। कांग्रेसलाई पुन: सशक्त, आधुनिक र युवामैत्री बनाउने जिम्मेवारी अझै तपाईंको काँधमै छ। लडेको काग्रेसलाई धुलो टकटक्यायर उठाउनु भएको छ ।
तपाईंको जीवन आफैंमा संघर्ष र समर्पणको कथा हो। विद्यार्थी राजनीतिदेखि लोकतान्त्रिक आन्दोलनसम्म, २०६४ को संविधानसभा सदस्यका रूपमा खेलेको भूमिका, स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा गरेका सुधारका प्रयास, २०७४ र २०७९ को प्रतिनिधि सभामा देखिएको स्पष्ट र साहसी आवाज—यी सबै केवल पदका इतिहास होइनन्, संघर्ष र प्रतिबद्धताका अध्याय हुन्।
नेपाली कांग्रेसका महामन्त्रीका रूपमा तपाईंले संगठन सुधार, युवा नेतृत्वलाई अघि बढाउने प्रयास र आधुनिक सोचसहितको नीतिगत बहसलाई अघि सार्नु भएको छ। तर अर्को पक्षसँग ७५–८० प्रतिशत शक्ति हुँदा तपाईंले चाहेका धेरै सुधारहरू पूरा हुन सकेनन्। पार्टीभित्र पनि तपाईंले बारम्बार फरक मत राख्नुभयो, संघर्ष गर्नुभयो—कहिलेकाहीँ त्यो आवाज सुन्ने कान कम भए। तर संसदमा, सरकारमै हुँदा पनि तपाईंले प्रखर विपक्षझैँ भएर पार्टी र जनताको पक्षमा बोलेका प्रमाणहरू आज पनि समयले सुरक्षित राखेको छ।
दाइ, प्रकृतिको नियम पनि यही हो—परिवर्तन। चार्ल्स डार्विनको सिद्धान्तले भन्छ, समयसँग अनुकूल हुन सक्ने मात्रै टिक्छ। इतिहास पनि यही भन्छ। राणा शासन परिवर्तनसँग अनुकूल हुन सकेन, त्यसैले इतिहासमा सीमित भयो। राजतन्त्र जनताको लोकतान्त्रिक चाहनासँग मेल खान सकेन, अन्तत: समाप्त भयो। पञ्चायती व्यवस्था पनि समयको माग बुझ्न नसक्दा टिक्न सकेन।
लोकतन्त्रपछि जन्मिएका राजनीतिक शक्तिहरू पनि यही प्रक्रियामा छन्। कुनै समय शक्तिशाली देखिएका केही दलहरू आज कमजोर बनेका उदाहरणहरू छन्। माओवादी आन्दोलनको क्रमश: कमजोर हुँदै गएको अवस्था होस् वा तराई–मधेस केन्द्रित दलहरूको फुट, एकीकरण र रूपान्तरण—यी सबै परिवर्तनको संकेत हुन्।
त्यसैले दाइ, नेपाली कांग्रेस जस्तो इतिहास बोकेको पार्टीलाई समयअनुकूल परिमार्जन गर्दै अघि बढाउनु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो। सरकारको राम्रो काम खुलेर प्रशंसा गरौं, गलत ठाउँमा साहसका साथ “गलत भयो” भनौं। संगठनलाई गाउँ–गाउँमा पुन: सक्रिय बनाऔं। किनकि भोलि फेरि हाम्रो पनि हुन सक्छ—यदि आज हामीले आशा जोगाएर राख्यौं भने।
नआत्तिनुस दाइ। तपाईं एक्लो हुनुहुन्न। हामी छौं, लाखौँ नेपाली छन्, नेपाल छ। कांग्रेसमा तपाईंको रगत, पसिना र जवानी मिसिएको छ। यो पद कसैले माया गरेर दिएको होइन—तपाईंले संघर्ष गरेर कमाउनुभएको हो।
हामीजस्ता हजारौँ कार्यकर्ताहरूको विश्वास आज पनि उही छ—
यो यात्राको अन्त्य होइन, अर्को अध्यायको सुरुवात हो।
तपाई संगै कांग्रेसको भलो चाहाने
लोकनाथ अधिकारी
हाल अमेरिका


0 comment