काठमाडौं - परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई घर भित्रै बस्न अनुरोध गरेको छ । इजरायल र अमेरिकाले शनिबार बिहान संयुक्त रूपमा इरानबाट आक्रमण गरेसँगै परराष्ट्र मन्त्रालयले एक ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीलाई घरभित्रै बस्न अनुरोध गरेको हो ।

मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षा सतर्कता तथा निर्देशनहरू कडाइका साथ पालना गर्न आह्वान गरेको हो।

‘सकेसम्म घरभित्रै बस्नुहोस्, सधैं सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘सम्बन्धित देशका निकायबाट पूर्वअनुमति नलिई अनावश्यक यात्रा नगर्नुहोस्।’

काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अवीवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग तल उल्लिखित सम्पर्क विवरणमार्फत नियमित सम्पर्कमा रहन मन्त्रालयको आग्रह छ।

इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहेका नेपाली नागरिकहरूलाई हालको अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न कडाइ गर्न मन्त्रालयले आग्रह गरेको छ।