काठमाडौं - सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदाको व्यवस्थालाई पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएपछि विद्यमान बिदा प्रणालीको समीक्षा आवश्यक ठहर गर्दै सचिवहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिनेछ।
कार्यदललाई सार्वजनिक बिदासम्बन्धी विद्यमान व्यवस्था, त्यसको प्रभाव र आवश्यक सुधारका विषयमा अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
सरकारले दुईदिने साप्ताहिक बिदा लागू भइसकेपछि सार्वजनिक बिदाको संख्या, व्यवस्थापन र प्रभावकारिताबारे समग्र समीक्षा गर्ने उद्देश्यले कार्यदल गठनको निर्णय गरेको जनाएको छ।


0 comment