काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने बताउनुभएको छ ।
आसन्न प्रपितनिधिसभा सदस्य निर्वाचनको निर्वाचन सुरक्षा र समग्र शान्ति अवस्थाको निरीक्षण तथा अनुगमनका लागि शुक्रबार ओखलढुंगा पुग्नुभएका मन्त्री अर्यालले शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेकाले सबैले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“अन्य जिल्ला हेरी ओखलङुंगा शान्त रहेको छ । कानून विपरीत कृयाकलापमा उन्मुक्ति दिइनेछैन । सबैलाई सुरक्षाको पूर्ण अनुभूति दिन्छौँ ।
मन्त्री अर्यालले गैर कानूनी कृयाकलाप गर्नेलाई कानूनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरिने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले सबैले निष्पक्ष भएर निर्वाचन गराउनुपर्नेमा जोड थियो ।
मन्त्री अर्यालले दैनिक घटनाको विश्लेषण गरी धार्मिक, सामाजिक सद्भाव कायम गर्न तथा उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
गृहमन्त्रीसहितको उच्चअधिकारीको टोलीले जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृतलगायत सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद घण्डारीले ओखलढुंगामा खास समस्या नभएकोले निर्वाचन स्वच्छ, निश्पक्ष हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिता उलंघन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तिबाट निर्वाचनको तयारी तथा जिल्लाको समग्र शान्ति सुरक्षाबारे जानकारी गराउनुभएको थियो । साथै उहाँले जिल्लामा स्रोत साधन तथा सूरक्षा टोलीको परिचालनबारे अवगत गराउनुभयो ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले कर्मचारी व्यवस्थापन चुस्त र दुरुस्त रहेको तथा राजनीतिक पार्टीहरुसँग प्रभावकारी समन्वय भइरहेको बताउनुभयो । उहाँले सुरक्षा निकायबाट दैनिक रुपमा ब्रिफिङ लिई सोही अनुरुप परिचालन गरिएको जानकारी दिनुभयो ।
अनुगमनमा गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, डिआइजी विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।
मन्त्री अर्याल नेतृत्वको टोली दोलखाको बैदेश्वर गाउँपालिकाका मतदान स्थलको स्थलगत निरीक्षण र अनुगमन लगत्तै ओखलढुंगा पुरेर छलफल गरेको हो । अहिले मोरङका विभिन्न क्षेत्रमा अनुगमन र अन्तरक्रिया भइरहेको अनुगमनमा सहभागी गृहमन्त्रालयका सह–प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।


0 comment