काठमाडौं - सर्लाहीको मलंगवा नगरपालिका–१० देवीटोलमा गोली प्रहारबाट हत्या भएका प्रमोद यादवको हत्यारालाई पक्राउ गर्न माग गर्दै उनका आफन्तहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सिरहाको सुखीपुर नगरपालिका–६ निवासी यादवको अज्ञात समूहले हत्या गरेपछि दोषीलाई पक्राउ गर्दै कारबाहीको माग राखेर उनका आफन्तहरुले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी आफन्तजनहरुले हत्यारालाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, मौन सरकार लाज किन, न्यायबिना शान्ति हुँदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मृतकका आफन्त दिलिप यादवले क्रिया बिदा सकेर कार्यालयमा कामका लागि मलंगवास्थित डेरामा फर्किपछि अज्ञात समूहले हत्या गरेको भन्दै दोषीलाई छिटो पक्राउ गर्न माग गरे । प्रमोद यादवलाई डेराबाट बाहिर बोलाएर गोली प्रहार भएको उनले बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत जिल्ला पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि आइतबार राती गोली प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा पु¥याइए पनि चिकित्सकले केही बेरमै मृत घोषणा गरेका थिए ।