काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले  सूचना प्रविधि (आईटी) क्षेत्रमार्फत नेपालमा ठूलो आर्थिक सम्भावना सिर्जना गर्न सकिने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले आईटी क्षेत्रको विकासका लागि आफूले अघि सारेको योजनाबारे प्रष्ट पारे। उनले आईटीमार्फत युवाहरूलाई स्वदेशमै उच्च आम्दानीको अवसर उपलब्ध गराउने आफ्नो दीर्घकालीन सोच रहेको उल्लेख गरे।

थापाले अहिले पनि आईटी क्षेत्रमार्फत ग्लोबल स्केलका अवसरहरू नेपालमा भित्र्याउने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनका अनुसार नेपालमा सूचना प्रविधिको क्षेत्रमा केही प्रयासहरू भइरहेका भए पनि ती पर्याप्त छैनन्। यस क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने गरी नीतिगत तथा संरचनात्मक सुधार आवश्यक रहेको उनको भनाइ छ।