काठमाडौं - ‘हे भगवान! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्।’
कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको मुख्य प्रवेशद्वारमा राखिएको यही वाक्यले आज पनि त्यहाँ पुग्ने जो–कोहीलाई भावुक बनाउँछ। हात जोडेको सञ्चालक मीनबहादुर गुरुङको तस्बिरसँगै जलिरहेको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र भाटभटेनीको दृश्यले त्यो कालो दिनको पीडा झल्काउँछ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा कोटेश्वरसहित देशका १२ वटा भाटभटेनी स्टोर आन्दोलनकारीको निशानामा परे। तोडफोड, लुटपाट र आगजनीका कारण अर्बौंको संरचना र सामान खरानी भयो। पाँच दिनसम्म बलिरहेको कोटेश्वर भाटभटेनी देख्दा धेरैले अब यो कहिल्यै नउठ्ने ठानेका थिए।
तर भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले हिम्मत हारेनन्। बरु जलेको खण्डहरबाटै नयाँ सुरुवात गर्ने अठोट लिए। “देश बन्दैन” भन्ने निराश भाष्यलाई उनले काम गरेरै चुनौती दिए। जेन–जी आन्दोलनपछि मंसिर २४ गतेदेखि पुनर्निर्माण सुरु भयो र करिब ६ महिनामै कोटेश्वर स्टोर फेरि सञ्चालनमा आयो।
यो केवल एउटा स्टोर खुलेको घटना मात्र होइन, यो आशा फर्किएको क्षण हो। कर्मचारीहरूले रोजगारी गुमाएनन्, तलब पनि निरन्तर पाए। पुनर्निर्माणका दिनहरूमा गुरुङ स्वयं बिहानदेखि बेलुकासम्म मजदुरहरूसँगै खटिए। आज पुनः खुलेको भाटभटेनी हेर्न उपभोक्ताहरू उत्साहित छन्।
ग्राहकहरू भन्छन्— “जलेको भिडियो हेरेर अब बन्द हुन्छ होला भन्ने लागेको थियो, तर फेरि खुलेको देख्दा मन खुसी भएको छ।”
कर्मचारीहरू भन्छन्— “यस्तो अवस्थामा पनि हामीलाई छोड्नुभएन, यही हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो।”
भाटभटेनीको पुनः सञ्चालनले निजी क्षेत्र र समग्र अर्थतन्त्रलाई पनि सन्देश दिएको छ—
विनाशपछि पनि निर्माण सम्भव छ। निराशामाथि पनि आशा जित्न सक्छ।
कोटेश्वर भाटभटेनी आज केवल किनमेल गर्ने ठाउँ मात्र होइन, यो अब नउड्ने हिम्मत र नढल्ने विश्वासको प्रतीक बनेको छ।


0 comment