काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरुले आफूमाथि विभिन्न आरोप लगाउने गरेको बताएका छन् । सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासँगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधिक तत्वहरु घुसेर विध्वंस मच्चाएको र तिनै अपराधिक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताएका छन् । तत्कालिन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहराउदै अध्यक्ष ओलीले

संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधिक तत्वहरुले नै बनाएको धारणा राखे । उनले आफूले राजीनामा दिएपछि ५४ जनाको मृत्यु भएको उल्लेख गरे । ओलीले मुलुकको विकासका लागि एमालेले सबै भन्दा धेरै काम गरेको दाबी गरे ।

गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहीले तोडमोड गरेको भन्दै उनले आपत्ति जनाए । उनले नेपालमा ग्यास उन्खनन भइसकेको भन्दै अब त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट वितरण गर्नुपर्ने बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहेका ओली पछिल्लो समय झापामा स्थानीयसँगको छलफलमा केन्द्रीत छन् ।