उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठुला–ठुला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सही व्यक्ति नेतृत्वमा पुग्नुपर्ने बताएका हुन्।
उनले यसअघिको निर्वाचनमा पुराना दलहरुले गरेको विकृति र विसंगतिलाई अहिले नयाँ भनिएका दलहरुले दोहराएको देख्दा दु:ख लागेको उल्लेख गरे ।
काठमाडौं क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका घिसिङले देशलाई भ्रष्टाचार मुक्त बनाएर सुशासन कायम गर्न पार्टीका उम्मेद्वारहरुले सुशासनको अभ्यास गर्न सिक्नुपर्ने धारणा व्यक्त गरे ।
उनले देशका विभिन्न क्षेत्रमा धेरै समस्या रहेको भन्दै त्यसलाई समाधान गर्दै देशलाई समृद्धि तर्फ अघि बढाउन उज्यालो पार्टीलाई जनताले विश्वास गर्ने दाबी समेत गरे । कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई घिसिङले उज्यालो नेपाल पार्टीमा प्रवेश गराएका थिए ।


0 comment