काठमाडौं, २३ माघ । जय मातृभूमि पार्टीले आसन्न निर्वाचनमा आफ्नो उम्मेवारहरुलाई विजय गराउन २५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन तथा चुनाव प्रचार प्रसार मूल समिति गठन गरेको छ ।

पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीको अध्यक्षतामा गठित निर्वाचन प्रचार प्रसार मूल समितिमा केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु, केन्द्रीय समिति सदस्यहरु विभिन्न विभागका सदस्यहरु तथा पार्टीका सल्लाहाकार शुभेच्छुकहरुलाई सदस्यको रुपमा राखीएको छ । पार्टीको केन्द्रीय कार्यालय “आमा घर”मा अध्यक्ष सुरेश कुमार कार्कीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन अघि बढाउने सम्बन्धमा विभिन्न रणनीति तयार गर्नको लागि गम्भिर छलफल गरेको छ । पार्टीका अध्यक्ष कार्कीले बैठकको शुभारम्भ गर्दै निर्वाचनमा उम्मेदवार बन्ने साथीहरुलाई विजयको शुभकामना व्यक्त गर्दै जनता सामु जादा पार्टीले उठाएको देशभक्ती र राष्ट्र निर्माणका एजेण्डाहरु निर्भिकताका साथ लैजान निर्देशन दिनु भयो ।

 बैठकमा महासचिव गोविन्द गिरीले एजेण्डाहरु प्रस्तुत गर्नु भएको थियो । पार्टीका सह—अध्यक्ष रामशरण पाण्डे तथा वरिष्ठ नेता क्या.के.वि.लिम्वुले जय मातृभूमि पार्टीले उठाएका एजेण्डाहरु अन्य पुरातनवादी पार्टीहरुले उठाएका भन्दा विलकुलै फरक ढंगका र मुलुकलाई समृद्धिको मार्गमा लैजाने स्पष्ट भिजन सहितका भएकाले एजेण्डालाई आम जनता सामु पुर्‍याउन सकेको खण्डमा पार्टीका उम्मेदवारहरु विजयी बन्न सक्नेमा दुइमत छैन भन्नु भयो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रोमलाल गिरी तथा उपाध्यक्षहरु टुलराज बस्याल, आर.के.ढकालले पार्टीको गतिविधिको समिक्षा गर्दै प्रचार प्रसारलाई तिव्र बनाउने तर्फ सुझाव प्रस्तुत गर्नु भयो । पार्टी उप—महासचिव लक्ष्मीदत्त भट्ट, उप—महासचिव कृष्णराज राई सचिव तेजेन्द्र प्रशाई, सचिव तोप गुरुङ, कोषाध्यक्ष आनन्द सिंखडा र प्रवक्ता डा.खेम बहादुर क्षेत्री, लगायत बैठकका सहभागीहरुले आ—आफ्नो धारण प्रस्तुत गर्नु भएको थियो । बैठकमा पाँच सुत्रिय एजेण्डाहरु पारित भएका छन् ।

बैठकले केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णयहरु अनुमोदन गर्नुका साथै आर्थिक संकलन र लेवी व्यवस्थापन सम्बन्धी निर्णय गर्‍यो । यसैगरी पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सबै क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरु तोक्ने निर्णय गरेको छ । पार्टीले पूर्वदेखी सुदुर पश्चिम सबै क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिएको छ ।

राष्ट्रियता, नागरिकतन्त्र, सुशासन, समृद्धि र नेपाललवाद पार्टीको मूल मार्ग निर्देश्क सिद्धान्त रहेको जय मातृभूमि पार्टीमा विभिन्न क्षेत्रका विज्ञ, राजनीतिककर्मी, पूर्व सुरक्षाकर्मीहरु पूर्व उच्च कर्मचारीहरु तथा सुशासन अभियन्ता र जेन—जि आन्दोलमा सक्रिय रुपमा सहभागी युवाहरु सम्मिलित रहेका छन् । जय मातृभूमि पार्टीको चुनाव चिन्ह बच्चा काखमा लिएको आमा रहेको छ ।