काठमाडौं - नेपाली कांग्रेसको गगन थापा समूह बिहीबार आधिकारिकता खोज्दै निर्वाचन आयोग जाने भएको छ ।

सभापतिमा निर्वाचित भएसँगै  नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आयोग जाने बताएका हुन् । उनले यसअघि नै पनि आयोगमा विशेष महाधिवेशनको विषयमा आयोगमा जानकारी गराइसकेको बताए ।

थापाले निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले आफू नेतृत्वको कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको जिकिर गर्दै आफूहरूले नै वैधानिकता पाउनुपर्ने दाबी समेत गरेका छन् । थापाले विशेष महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको केन्द्रीय कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको स्पष्ट पारेका हुन् ।

उनले पार्टीको वैधानिकता र आधिकारिकता निर्वाचन आयोगले संविधान, कानुन र लोकतान्त्रिक अभ्यासअनुसार नै सुनिश्चित गर्ने विश्वास व्यक्त गर्दै आफूहरूले नै वैधानिक मान्यता पाउनुपर्ने दाबी गरेका हुन् ।
सभापतिमा निर्वाचित भएपछि थापाले कांग्रेस जस्तो ऐतिहासिक पार्टीको नेतृत्व गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताएका छन् ।

उनले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, निष्ठा र समर्पणका साथ पूरा गर्ने प्रतिबद्धता जनाए । उनले पार्टीका नेता तथा कार्यकर्ताको सम्मान, स्वाभिमान र आत्मसम्मान जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।

‘कांग्रेसका कुनै पनि नेता–कार्यकर्ताको शिर निहुरिन दिनेछैनौँ,’ भन्दै उनले पार्टीलाई एकताबद्ध,अनुशासित र जनताको भरोसाको बलियो शक्ति बनाउने संकल्प व्यक्त गर्दै यो कुनै दलको भुई तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप हो भने ।

कांग्रेस बाहिर रहेका नागरिकहरूलाई सम्बोधन गर्दै थापाले भने लोकतन्त्र, सुशासन र पार्टीभित्रको सुधारका लागि यो अधिवेशन अर्थपूर्ण र उपलब्धिपूर्ण छ ।