काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका नेपालका ७५३ स्थानीय तहमध्ये नगरपालिकाकै संरचनाबाट मालपोत सेवा सञ्चालन गर्ने पहिलो नगरपालिका बन्न सफल भएको छ । नगरपालिकाको निरन्तर पहलपछि मंगलबार यस सम्बन्धी ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. कुमार इङ्नामको उपस्थितिमा सहरी विकास मन्त्रालयमा भएको समझदारीपत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख उपेन्द्र कार्कीले हस्ताक्षर गरे।
त्यसअवसरमा भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मी, चाबहिल–साँखु मालपोत कार्यालय प्रमुख, सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरू तथा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापा लगायत सहभागी थिए।
समझदारी कार्यान्वयनमा आएसँगै अब नगरवासीहरूले जग्गा नामसारी, दर्ता, अभिलेख व्यवस्थापनलगायतका मालपोत सेवाका लागि अन्य कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ। नगरपालिकामै छिटो, सहज, पारदर्शी र सेवाग्राहीमैत्री ढंगले सेवा उपलब्ध हुने भएपछि नागरिकहरू प्रत्यक्ष लाभान्वित हुने नगर प्रमुख कार्कीले बताए।
यस कदमलाई संविधान २०७२ ले सुनिश्चित गरेको स्थानीय तहको अधिकार व्यवहारमा उतार्ने ऐतिहासिक माइलस्टोनका रूपमा मूल्यांकन गरिएको छ। यसले सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। यो सँगै स्थानीय सरकारको अधिकार कार्यान्वयनतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको छ।
यस उपलब्धि सम्भव बनाउन महत्वपूर्ण योगदान दिने मन्त्रीका सल्लाहकार दीपक ओली, नगर उपप्रमुख थापा, सम्पूर्ण वडा अध्यक्षहरू तथा कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक टिमप्रति नगरपालिकाले आभार व्यक्त गरेको छ।
स्थानीय तहबाटै मालपोत सेवा सञ्चालनको यो पहललाई देशभरका अन्य नगरपालिकाका लागि उदाहरणीय मोडेलका रूपमा हेरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका हरेक कुरामा अन्य नगरपालिका भन्दा सधैं एक कदम अगाडि नै छ ।


0 comment