काठमाडौं - नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने महाधिवेशनका लागि विभिन्न स्थानबाट र्यालीसहित प्रतिनिधिहरू सहभागी भइरहेका छन् । हालसम्म ६ सय ३० भन्दा बढी प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्।
महाधिवेशनमा संगठन सुधार, सदस्यता प्रणाली, प्रतिनिधित्व, उम्मेदवार छनोट र सरकारसँगको समन्वयसम्बन्धी प्रस्ताव पेस हुँदै छन्। अब पार्टी सदस्यता अनलाइन प्रणालीमार्फत दिने, वडा तहमा तीन सदस्यीय समितिबाट सदस्यता निर्णय गर्ने र अस्वीकृत भएमा पुनरावेदनको व्यवस्था गर्ने प्रस्ताव छ।
संगठनात्मक संरचनामा सबै तहमा महिला उपसभापति थप गर्ने, केन्द्रीय कार्यसमितिलाई ३०१ सदस्यीय बनाउने र युवासहित पेशागत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ। निर्वाचन प्रणालीमा वडा तहदेखि केन्द्रसम्म प्रतिनिधिमार्फत निर्वाचन गर्ने व्यवस्था प्रस्ताव छ।
यसैगरी उम्मेदवार छनोट, विभिन्न आयोगहरूको निर्वाचन र सरकारसँग समन्वयका लागि समिति गठन गर्ने प्रस्ताव पनि महाधिवेशनमा पेस हुँदै छन्। कांग्रेसले यी प्रस्तावमार्फत पार्टीलाई थप लोकतान्त्रिक, समावेशी र पारदर्शी बनाउने लक्ष्य लिएको जनाएको छ। आन्तरिक विवादकाबीच सुरु भएको कांग्रेसको महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।


0 comment