काठमाडौं - उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्य गरेर अघि बढ्न कठिन भएको बताएका छन्। रास्वपा नेतृत्वसँग लामो छलफल भए पनि केही विषयमा सहमति नजुटेपछि घिसिङ असन्तुष्ट देखिएका हुन्।

शुक्रबार बिहान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच करिब तीन घण्टा छलफल भएको थियो। त्यसलगत्तै दिउँसो घिसिङले उज्यालो नेपाल पार्टीका नेतृत्व तहका नेताहरूसँग काठमाडौँको बौद्धमा करिब दुई घण्टा आन्तरिक छलफल गरेका थिए।

आफू निकट र सल्लाह सुझाव लिने नेताहरूसँगको छलफलमा घिसिङले रास्वपासँग मिलेर जान गाह्रो भएको बताएका छन्। ‘एक–दुई कुरा मिलेका छैनन्,’ घिसिङको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी तीन नेताले भने, ‘त्यसैले रास्वपासँग मिलेर जान अप्ठ्यारो भयो।’

नमिलेको विषय भनेको संघीयता, धर्मनिरपेक्षता र समावेशिताको सैद्धान्तिक मुद्दा हो । यो मुद्दामा लिखित सहमति हुनुपर्छ भन्ने कुलमान पक्षको अडानमा रविले मौखिक सहमति जनाएपनि लिखित सम्झौतामा हस्ताक्षर गर्न आनाकानी गरिरहेका छन् ।

शीर्ष तहका नेतासँगको छलफलपछि घिसिङ अहिले उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यहरूसँग छलफलमा जुटेका छन्। केन्द्रीय सदस्यहरूसँगको छलफलपछि रास्वपासँग सहकार्य गर्ने कि अलग बाटो रोज्ने भन्नेबारे निष्कर्षमा पुग्ने घिसिङको तयारी छ। ‘अहिल्यै अलग हुने निर्णय भइसकेको छैन,’ छलफलमा सहभागी अर्का नेताले भने, ‘आजको छलफलपछि के गर्ने भन्ने निर्णयमा पुग्नुहुन्छ।’

रास्वापासँग नजिकिएको आरोप लागेपछि घिसिङ्ले दुईदिन अघि मात्रै मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । तर उनी अहिले रास्वपा अँगालौं कि त्यागौं भन्ने स्थितिमा पुगेका छन् । दुई पार्टीबीच पुस १४ गते एकता गर्ने सहमति भयो । तर, सहमति अनुसार रास्वपा कार्यान्वयनको पक्षमा नउभिँदा दुई पार्टीबिचको एकताले पूर्णता पाउन ढिलाइ भएको छ ।