काठमाडौं । लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र वहाँकी धर्मपत्नी सिलिया फ्लोरेसलाई यही शनिवार विहान निवासबाटै पक्राउ गरी न्यूयोर्क जेलमा राखिएको सम्बन्धमा जय मातृभूमि पार्टीले एक प्रेस विज्ञप्ति प्रकाशित गरी पार्टीको आधिकारिक धारणा प्रस्तुत गरेको छ । पार्टीका सह—अध्यक्ष रामशरण पाण्डेद्धारा हस्ताक्षर गरिएको सम्बन्धमा भनिएको छ । “ लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र वहाँकी धर्मपत्नी सिलिया फ्लोरेसलाई यही शनिवार विहान निवासबाटै पक्राउ गरी न्यूयोर्क जेलमा राखिएको खबर छ, जहाँ मदुरोलाई लागु औषधको मुद्दा चलाइने भएको छ । भेनेजुयला सन् १९४५ मा संयुक्त राष्ट्र संघको संस्थापक राष्ट्रहरु मध्ये एक हो । भेनेजुयलाको क्षेत्रफल ९ लाख १२ हजार वर्ग कि.मि., जनसंख्या ३ करोड १३ लाख र प्रति व्यक्ति आय ३७०० अमेरिकी डलर रहेको छ । भेनेजुयलामा संसारको १७ प्रतिशत तेल भण्डार रहेको छ, जुन अन्य देशहरुको तुलनामा सर्वोच्च तेल भण्डार हो । भेनेजुयलाले २०७३ भाद्र २८ असोज २ मा असंलग्न राष्ट्रहरुको १७ औं सम्मेलन समेत आयोजना गरेको थियो ।

लागु औषध कारोवारमा संलग्न भयो भनेर कुनै एक स्वतन्त्र र सार्वभौम राष्ट्रको राष्ट्रपति विरुद्ध विदेशी राष्ट्रको प्रशासनले दिनदहाडै डकैतीको शैलीमा पक्राउ गरी आफ्नो देशमा लगेर मुद्दा चलाउनु संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र न्याय हेर्ने निकाय, संयन्त्र र व्यवस्थाको बर्खिलाप हो । यसरी ठुला र शक्तिशाली राष्ट्रले असीमित साधनस्रोत भएका तर कमजोर विकासशील राष्ट्रको सार्वभौमिकता माथिको यस्तो ठाडो हस्तक्षेपले विश्वशान्ति, सद्भाव र सम्बन्धमा अनिश्चितता र अस्थिरताको वातावरण बढ्ने भएकोले जय मातृभूमि पार्टीले यस्तो हर्कतको घोर विरोध गर्दै हाल समातिएका मदुरो दम्पतिलाई तत्काल रिहा गर्न र सो हर्कतको लागि भेनेजुयला समक्ष माफि माग्दै विश्वमा शान्ति, सद्भाव र स्थिरताको माहौल बनाई राख्न ट्रम्प प्रशासनलाई सचेत गराउदै ठुला राष्ट्रले तथा क्षेत्रीय राष्ट्रहरुले पनि साना सार्वभौम राष्ट्र माथि गर्ने यस्तो हस्तक्षेप, बलमिच्यार्इं र दादागिरीको श्रृंखला तत्काल अन्त्य गरी विश्व भाइचारा र विश्वबन्धुत्वको परिवेश निर्माण गर्न विश्व जगतको ध्यान केन्द्रीत हुनु अपरिहार्य रहेको छ ।”

यसै विच जय मातृभूमि पार्टीले वर्तमान संकटको निकाशको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको जोडदार माग गर्दै आएको छ । प्रदेश पुनर्संरचना सहित स्थानीय तहको सशक्तिकरण गरी सुदृढ र थप अधिकार सम्पन्न स्थानीय तहको व्यवस्था, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, रोजगारी सिर्जना, सबै खाले भ्रष्टाचार काण्डहरुको अनुसन्धान गर्न शक्तिशाली स्वतन्त्र नागरिक छानबिन आयोगको गठन लगायतका माग पार्टीले अघि सार्दै आएको छ ।