काठमाडौं - आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका छन् ।
उनले आज बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन्। जनता र पार्टीका कार्यकर्ताको भावना अनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् ।
उनले भनेका छन् ‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’
उनले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने पनि उल्लेख गरेका छन् ।
शाहले राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत् जनतासँगै उभिएर उम्मेदवारी दिने चाहना स्पष्ट रूपमा भने पनि रास्वपाले देशव्यापी चुनावी अभियान आवश्यककता महसुस गरेर समानुपातिक प्रणालीमै अघि बढ्नुपर्ने भनेपछि उम्मेदवारी दर्ता गरेको प्रष्ट पारेका छन् ।
‘तर, त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो । सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो,देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैं गर्न तयार छु । तर, जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत् सांसद बन्ने बाटो म रोज्न सक्दिनँ ।’ उनले लेखेका छन् ।


0 comment