काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छिन् । 

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भुसालले  प्रत्यक्ष र समानुपातिक दुवैमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । उनले यसपटक पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने पनि बताएकी छन् ।

पहिला अवसर पाइसकेको भन्दै उनले अरु नेतालाई पनि नदोहरिन सुझाएकी छन् ।  निर्वाचनमा आफूलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट प्रस्ताव आए पनि त्यसलाई स्वीकार नगरेको उनको भनाइ छ ।

भुसाल दुईपटक प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् उनले पटकपटक मन्त्री भएर काम गर्ने अवसर पाइसकेकी छन् । सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको छ ।